विश्वकै जटिल इन्जिनियरिङ चुनौतीमा नेपाली इन्जिनियरको सक्रिय सहभागिता : डा. हेमनाथ घिमिरेको नेतृत्वले रच्यो इतिहास !
विश्वकै जटिल इन्जिनियरिङ चुनौतीमा नेपाली इन्जिनियरको सक्रिय सहभागिता : डा. हेमनाथ घिमिरेको नेतृत्वले रच्यो इतिहास !
छिमेकी मुलुक बंगलादेशको 'लाइफलाइन' अर्थात् राष्ट्रिय गौरवको परियोजना मानिने 'पद्मा बहुउद्देश्यीय पुल'को निर्माणमा नेपाली भू-प्राविधिक (Geotechnical) इन्जिनियर डा. हेमनाथ घिमिरेले पुर्याएको योगदानले विश्व मञ्चमा नेपालको शिर उच्च बनाएको छ। ६.१५ किलोमिटर लामो यो विशाल संरचनाको जग बलियो बनाउने चुनौतीपूर्ण कार्यमा डा. घिमिरेले निर्वाह गरेको नेतृत्वदायी भूमिकाले अन्तर्राष्ट्रिय इन्जिनियरिङ जगतलाई समेत प्रभावित पारेको छ।
कठिन चुनौती एवं लगभग असम्भव जस्तै मानिएको यस जटिल कार्यमा नेपाली प्राविधिक कुशलताले स्थान पाउनु पक्कैपनि गौरवको कूरा हो। पद्मा नदीको पिँधको माटो अत्यन्तै कमलो र बालुवायुक्त हुनुका साथै नदीको बहाव अत्यधिक उच्च भएका कारण यस आयोजनालाई विश्वकै जटिल इन्जिनियरिङ परियोजनामध्ये एक मानिन्थ्यो। उक्त पुलको जग राख्नका लागि नदीको सतहभन्दा १२० देखि १२२ मिटर गहिराइसम्म पाइलिङ गर्नुपर्ने प्राविधिक आवश्यकता थियो, जुन विश्वकै लागि कठिन चुनौती थियो।
अन्तर्राष्ट्रिय परामर्शदाता टोली अन्तर्गत भू-प्राविधिक विज्ञका रूपमा कार्यरत डा. घिमिरेले उक्त जटिल अवस्थाको सफलतापूर्वक सामना गरेका थिए। जर्मनीमा निर्मित अत्याधुनिक हाइड्रोलिक ह्यामरको प्रयोग गरी पिलर गाड्ने कार्य र माटोको चापको सूक्ष्म विश्लेषणमा उनको निर्णय क्षमता निर्णायक साबित भएको थियो।
लमजुङको बाहुनडाँडामा जन्मिएका डा. घिमिरेले तीन दशक लामो अन्तर्राष्ट्रिय अनुभवका आधारमा यो सफलता हासिल गरेका हुन्। उनले यस आयोजनालाई आफ्नो जीवनकै सबैभन्दा ठूलो प्राविधिक उपलब्धि भएको बताएका छन्। २०२२ मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको उक्त डबल-डेकर (माथि चार लेन सडक र तल रेलमार्ग) पुलले बंगलादेशको अर्थतन्त्रमा १.२ प्रतिशतभन्दा बढी योगदान पुर्याइरहेको छ।
इन्जिनियरिङका अतिरिक्त साहित्य र सङ्गीतमा पनि उत्तिकै सक्रिय डा. घिमिरेको यो सफलताले नेपाली जनशक्ति विश्वका जुनसुकै जटिल भूगोल र प्रविधिमा नेतृत्व गर्न सक्षम रहेको सन्देश दिएको छ।
#PadmaBridge #NepaliEngineer
#goldenscientificage
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?