रा स्पपा काे प्रथम महाधिवेशन
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत आज हुने भनिएको बन्दसत्र स्थगित भएको छ।
सोमबार बिहान ९ बजे हुने भनिएको बन्द सत्र पटक पटक सारिँदै आएकोमा अन्तत: स्थगित गरिएको हो। खासगरी महाधिवेशन प्रतिनिधिहरू टुंगो लाग्न नसकेकाले स्थगित गरिएको एक नेताले बताए।
'प्रतिनिधिहरू टुंगो लगाएर मंगलबार बन्द सत्र आयोजना गरिनेछ। तर समय तय भइसकेको छैन,' उनले भने।
बन्द सत्र स्थगन गरिएको औपचारिक सूचना अझै आइसकेको छैन।
आजको बन्द सत्र सुरूमा डेढ घन्टा सारिएको थियो। त्यसपछि फेरि एक घन्टा थप गरियो। त्यसपछि बन्द सत्र कति बेला सुरू गर्ने भन्नेबारे आधिकारिक जानकारी दिइएन।हामीले महाधिशेवन स्थलमा भेटेर कुराकानी गरेका नेता/कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूले पनि अबको कार्यक्रम कहिले सुरू हुन्छ भन्नेबारे यकिन जानकारी नभएको बताएका थिए।
यसबीच बन्द सत्रको निम्ति तयार पारिएको हल खचाखच भरिएको छ भने बन्द सत्र बाहिरको परिसरमा पनि नेता/कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति छ। हलभित्र उपस्थित रहेकाहरू कोही आपसमा गफ गरिरहेका छन् भने कोही थकाइ र गर्मीले आलसतालस भएर भुइँमा पल्टिरहेका छन्। कोही नाचगान गरेर फुर्सद काटिरहेका छन्।
तीमध्ये झन्डै एक दर्जन सहभागीसँग हामीले छुट्टाछुट्टै कुरा गर्दा उनीहरू कसैले पनि के कारण कार्यक्रममा रोकावट आयो भनेर प्रस्ट भन्न सकेनन्।
यसबीच प्रवक्ता मनीष झाले महाधिवेशन प्रतिनिधिहरूको संख्या धेरै भएको र केन्द्रीय सदस्यका आकांक्षी पनि बढेकाले महाधिवेशन कार्यक्रम एक दिन सर्न सक्ने बताएका छन्।
उनले पहिलो महाधिवेशन भएकाले तयारीका कतिपय काममा कमजोरी भएको उल्लेख गरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?